23 April 2024

एन.एस.डब्ल्यु. भरिका मानिसहरूलाई २०२४ को फ्लूको मौसम अगावै उनीहरूको इन्फ्लुएन्जाको खोपको लागि समय लिएर गम्भीर रोगबाट आफूलाई बचाउन आग्रह गरिएको छ।

नवीनतम श्वासप्रश्वास निगरानी प्रतिवेदनले पछिल्लो चार हप्तामा एन.एस.डब्ल्यु. मा ४,७०० भन्दा बढी व्यक्तिलाई इन्फ्लुएन्जाको निदान गरिएको देखाएको छ, अघिल्लो वर्षको तुलनामा यो १६ प्रतिशतले बढेको देखिएको छ।

एन.एस.डब्ल्यु. का अस्पतालहरूले ६ जनवरी र १४ एप्रिल २०२४ बीच ४८० इन्फ्लुएन्जा भएको जस्तै बिरामीहरू भर्ना भएको पाए। यो २०२३ को सोहि अवधिमा देखिएको २८४ सँग तुलना गरिएको छ।

एन.एस.डब्ल्यु. सरकारले मानिसहरूलाई जाडो सुरू हुनु भन्दा पहिले नै स्थानीय जी.पी. वा औषधीपसल मार्फत इन्फ्लुएन्जाको खोप लगाउने समय लिन प्रोत्साहित गरिरहेको छ।

इन्फ्लुएन्जाबाट गम्भीर रूपमा बिरामी पर्न सक्ने उच्च जोखिममा रहेको मानिने व्यक्तिहरू नि:शुल्क फ्लूको खोपको लागि योग्य छन्। प्राथमिकता दिइएका समूहहरूमा निम्न समावेश छन्:

  • ६ महिनादेखि लिएर पाँच वर्ष मुनिका बालबालिकाहरू
  • ६५ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरू
  • ६ महिनाको उमेरदेखिका आदिवासी व्यक्तिहरू
  • गर्भवती महिलाहरू
  • मधुमेह, क्यान्सर, रोगसँग लड्ने शक्तिको विकार, मोटोपना, गम्भीर दम, मिर्गौला, मुटु, फोक्सो वा कलेजोको रोग जस्ता गम्भीर स्वास्थ्य अवस्था भएकाहरू।

एन.एस.डब्ल्यु. स्वास्थ्यले पनि फ्लूको खोप लगाएकै समयमा कोभिड-१९ विरूद्ध बढावा दिने सुई (बूस्टर) लगाउने विचार गर्नका लागि सिफारिस गर्दछ।

अष्ट्रेलियाली प्राविधिक सल्लाहकार समूहले प्रतिरक्षकको नवीनतम कोभिड-१९ को खोपको सल्लाहका लागि निम्न सिफारिस गर्दछ:

  • ७५ वर्ष वा सो भन्दा बढी उमेरका सबै वयस्कहरूका लागि प्रत्येक छ महिनामा कोभिड-१९ को खोप,
  • ६५ – ७४ वर्षका उमेरका वयस्कहरू, र  रोगसँग लड्ने क्षमतामा गम्भीर सम्झौता भएका १८ – ६४ वर्षका वयस्कहरूले प्रत्येक १२ महिनामा कोभिड-१९ को खोप लगाउनेबारे विचार गर्न सक्छन्; यी व्यक्तिहरूले प्रत्येक ६ महिनामा खोप लगाउनेबारे विचार गर्न सक्छन्,
  • १८ – ६४ वर्षका उमेरका अन्य सबै वयस्कहरू, र ती ५ –१८  वर्षको उमेरका रोगसँग लड्ने क्षमतामा गम्भीर सम्झौता भएकाहरूले प्रत्येक १२ महिनामा खोप लगाउनेबारे विचार गर्न सक्छन्।

आफू र आफ्ना प्रियजनहरूलाई कोभिड-१९ र फ्लूबाट जोगाउन मद्दत गर्ने केही कदमहरूमा यी समावेश छन्:

  • सिफारिस गरिएका इन्फ्लुएन्जा र कोभिड-१९ का खोपहरूबारे अद्यावधिक रहनुहोस्।
  • यदि तपाईंलाई चिसो लागेको छ वा फ्लूको लक्षणहरू देखिएका छन् भने घरमै बस्नुहोस् र यदि तपाईंलाई घर बाहिर निस्किन आवश्यक छ भने मास्क लगाउनुहोस्।
  • घरबाहिर वा राम्ररी हावा चल्ने भित्री ठाउँहरूमा भेला हुनुहोस्।
  • यदि तपाईं कोभिड-१९ वा इन्फ्लुएन्जाबाट गम्भीर रूपमा बिरामी पर्न सक्ने उच्च जोखिममा हुनुहुन्छ भने तपाईं बिरामी हुनु हुँदा के गर्ने भन्नेबारे योजना बनाउन आफ्नो डाक्टरसँग अब कुरा गर्नुहोस्, जसमा कुन परीक्षण गर्ने, र तपाईं विषाणु-विरोधी औषधीहरूका लागि योग्य हुनुहुन्छ कि हुनुहुँदैन भन्नेबारे छलफल गर्ने जस्ता कुराहरू समावेश हुन्छन्।
  • यदि तपाईंलाई चिसो लागेको छ वा फ्लूका लक्षणहरू देखिएका छन् वा परीक्षणले  कोभिड-१९ वा इन्फ्लुएन्जा लागेको छ भनेर देखाएको छ भने गम्भीर रूपमा बिरामी पर्न सक्ने उच्च जोखिममा रहेका मानिसहरूलाई भेट्न नजानुहोस्।
  • प्रियजनहरू जो कमजोर छन्, उनीहरूलाई भेट्न जानु अघि द्रुत एन्टिजेन परीक्षण गर्नेबारे विचार गर्नुहोस्, विशेषगरि त्यो बेला जब समुदायमा कोभिड-१९ को  संक्रमण मध्यम वा उच्च छ।

इन्फ्लुएन्जाकोभिड-१९ का बूस्टर खोपहरूबारे थप जानकारी एन.एस.डब्ल्यु. सरकारको वेबसाइटमा पाउन सकिन्छ।

प्रिमियर क्रिस मिन्सलाई श्रेय दिइएका उद्धरणहरू:

“इन्फ्लुएन्जा अत्याधिक रूपमा संक्रमण हुन्छ, र यसले ज्यान जोखिममा पार्न सक्छ, विशेषगरि ती कमजोर समूहहरू जस्तै साना बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र पुराना चिकित्सकीय अवस्था भएका मानिसहरू।

“फ्लूको सुई लगाउनु नै आफूलाई र व्यापक समुदायलाई जोगाउने सबैभन्दा राम्रो तरिका हो।”

स्वास्थ्य मन्त्री रायन पार्कलाई श्रेय दिइएका उद्धरणहरू:

“अष्ट्रेलियाका केही भागहरूमा इन्फ्लुएन्जा बढ्न थालेको छ, र यो चाँडै एन.एस.डब्ल्यु. मा बढ्छ भन्ने आशा गरिएको छ, त्यसैले तपाईंले आफूलाई र अरूलाई जोगाउन खोप लगाउनु धेरै महत्त्वपूर्ण छ किनभने तपाईं अस्पताल जाने अवस्था आइलागोस् भन्ने चाहनुहुन्न वा कमजोर समुदायका सदस्यहरूलाई जोखिममा पार्न चाहनुहुन्न।

“छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लूको खोप लगाउन सिफारिस गरिन्छ र यो जी.पी. हरू मार्फत कुनै पनि उमेरका समूहका लागि उपलब्ध छ, साथै पाँच वर्ष वा सोभन्दा बढी उमेरका सबैका लागि औषधीपसलहरू मार्फत उपलब्ध छ।”

प्रमुख स्वास्थ्य अधिकारी डा केरी च्यान्टलाई श्रेय दिइएका उद्धरणहरू:

“गत वर्ष, हामीले स-साना बच्चाहरूबीच इ.डी. प्रस्तुतीकरणमा वृद्धि भएको देख्यौँ, जसमा केही फ्लूबाट ज्यान जान सक्ने जटिलताहरूका साथ गहन हेरचाहमा भर्ना भएका थिए। हामी यो वर्ष पनि त्यही कुरा दोहोरिएको हेर्न चाहँदैनौं, त्यसैले हामी परिवारहरूलाई उनीहरूका ५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई अहिले नै उनीहरूको नि:शुल्क फ्लूको खोपको लगाउने समय लिन याद दिलाउँदैछौँ।

“तपाईंको स्थानीय डाक्टर वा औषधीपसलेसँग समय लिनु एकदम छिटो र सजिलो प्रक्रिया हो जसले सिफारिस गरिएमा तपाईंको कोभिड-१९ को खोप पनि त्यही समयमा लगाइदिन सक्छन्। यो सरल कार्यले तपाईं र तपाईंको परिवारलाई यो जाडोयाममा स्वस्थ रहन मद्दत गर्न सक्छ।”